काठमाडौं– नक्कली भुटानी शराणार्थी प्रकरणमा सोमबारको बहस सकिएको छ। जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दामा गत आइतबारदेखि बहस सुरु भएको थियो।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस चलिरहेको मुद्दामा प्रतिवादीलाई मंगलबारसम्म बहसको समय दिइएको छ। इजलासले सुरुकै दिन समय निर्धारण गरेको थियो।
सरकारी पक्षलाई ३ र आरोपित पक्षलाई ६ दिनको समय दिइएको थियो। आरोपितका तर्फबाट बुधबारदेखि बहस सुरु भएको थियो। सोमबार प्रतिवादीहरु रामशरण केसी, टेक नारायण पाण्डे, गोविन्द चौधरी र नरेन्द्र केसीको तर्फबाट बहस भएको छ।
बहालवाला सचिव पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले बहसका क्रममा उनलाई पक्राउ गर्ने कार्य अनुचित भएकोसहित अख्तियारका प्रमुख प्रेम राई, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यलाई किन पक्राउ गरिएन भन्दै प्रश्न गरे।
उनले क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै शर्तसहित धरौटीमा रिहा गर्न माग गरे। बहस जारी भएकाले मुद्दा हेर्दा–हेर्दै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।