रौतहट- शनिबार साँझ रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ।
इशनाथ नगरपालिका औरैयाकी १० वर्षीया बालिका उषमाकुमारी पटेल र डुंगाका सह-चालक गौर नगरपालिका–४ निवासी ओमप्रकाश चन्द्रवंशीको शव फेला परेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
दुबैको शव भारतको जमुनाह घाट आसपासबाट भारतीय सुरक्षा अधिकारीले फेला पारिएको हो। यसअघि आईतबार इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीय रूनादेवी पटेल र ३५ बर्षीय रूना देवी पटेलको शव फेला परेको थियो।
गौर नगरपालिका–४ की ४० वर्षीया इन्दुदेवी पटेल अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी रिजालले वताए। उनको खोजी कार्य जारी रहेको उनले बताए। ‘पौडिन जान्ने भन्ने लागेर सह-चालक ओमप्रकाश चाहिँ जिवितै छन् की भन्ने लागेको थियो, उनको पनि शव भेटियो’ रिजालले भने।
घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई १ लाखका दरले राहत रकम समेत वितरण गरिएको उनले बताए। ‘चारै जनाका परिवारलाई बोलाएका थियौं तर दुई परिवारका सदस्यहरु अन्तेष्टीमा लागेकाले उपस्थित हुन सक्नु भएन’ उनले भने–‘उपस्थित भएकालाई रकम बुझायौं।’
शान्ति देवी साह र रुनादेवी पटेलको परिवारलाई राहत रकम वुझाईएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।