सुनसरी– इटहरी र पत्रकार महासंघ सुनसरीले मुलुकी फौजदारी तथा देवानी संहिताका र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयमा छलफल कार्यक्रम आयोजना गरेको छ।
गत भदौ १ गतेदेखि लागू भएको फौजदारी र देवानी संहिता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्वमा रहेको भन्दै महासंघले उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष अमर खड्काले बताए।जिल्ला अदालत सुनसरीका अधिवक्ता सहितको छलफल कार्यक्रममा सुनसरीमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अधिवक्ता राजु ढकालले यो कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने काम गरेको बताए। संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा यो कानुन आएको उनको भनाइ थियो।
त्यस्तै अर्का अधिवक्ता सुमनचन्द्र कार्कीले यो कानुनले कतै नभएको नैतिकताको बिषयमा पनि दण्ड सजायको व्यवस्था गरेको बताए। यस्ता कानुनको कार्यन्वयन पक्ष अत्यन्तै फितलो हुने र अन्त्यमा कानुनको विरुद्धमा समाज चल्न सक्ने उनको भनाइ थियो।
सो कार्यक्रममा महासंघले एक घोषणापत्र नै सार्वजनिक गरी स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। उक्त घोषणापत्रमा फौजदारी संहिता र देवानी संहिता नेपालको संविधानसँग बाझिने भन्दै यसलाई सच्याउन आग्रह गरेको छ।
कानुन पत्रकारिता तथा मानवअधिकारको अन्तर्राष्ट्रिय अभ्यासको विरुद्धमा रहेको महासंघले ठहर गरेको छ। प्रेस स्वतन्त्रता सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न खोजेको भन्दै यस्ता कानुनहरू संशोधन गर्न माग गरिएको छ।
आजै सुनसरी लगायत मोरङ र इलाममा पनि पत्रकार महासंघले पनि सोही प्रकृतिका कार्यक्रमको आयोजना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।