संसदीय सुनुवाइ समितिको बैठक (फाइल तस्बिर) काठमाडौं– सोमबार संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै छ। बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययनसम्बन्धी निर्णय गर्ने बताइएको छ।
संवैधानिक परिषद्को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका काम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। कार्कीविरुद्धको उजुरीका लागि १० दिनको समय दिइएको थियो।
गत शुक्रबारसम्म उजुरी दिने समय रहेकोमा कार्कीविरुद्ध २९ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ।
कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरूले नै संसदीय सुनुवाइ समितिमा उजुरी हालेका छन्।
सोमबारको बैठकमा कार्कीविरुद्ध परेका उजुरीहरु खोलिनेछन्। उजुरीबारे समितिका सदस्य (सांसद)हरुलाई जानकारी दिएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने छ।
उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीको कुरा सुन्ने समितिको तयारी छ। विगतको अभ्यास पनि यस्तै रहेको छ।
कार्कीको बयान लिएपछि मात्रै उनको सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।