काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास भए वर्तमान सत्ता-गठबन्धनको सरकार ढल्न सक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि आइतबार सञ्चारकर्मीसँग नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत भएदेखि नै असन्तुष्ट रहेका नेपालले बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी समेत दिएका छन्।
समाजवादी अध्यक्ष नेपालले भने, ‘यो बजेटप्रति धेरै साथीहरू असन्तुष्ट हुनुहुन्छ। आक्रोशित नै हुनुहुन्छ। त्यसैले बजेटमा लचकता नदेखाए के हुन्छ भन्न सकिँदैन। यही स्थिति रहने हो भने सरकार दुर्घटनामा जान्छ। तर त्यस्तो नजाओस्।’
सरकारलाई जोगाउनेमा प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्ने बताउँदै उनले सबै चित्त बुझाएर, बेठिक कुरालाई सच्याएर जानुपर्ने र त्यसमा आफ्नो पनि प्रयास रहने बताए। ‘सबैले लचकता देखाऔं। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ,’ नेपालले भने।
भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेको प्रसंगमा नेपालले भारतले नेपाली मनोभावना बुझ्न जरूरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।