काठमाडौं- आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले लोकतन्त्रमा राज्यको चरित्र सेवाकारी र सहयोगी हुनुपर्ने भए पनि चुस्ने र लुट्ने चरित्र देखापरेको बताएका छन्।
आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै साहले भने, ‘एउटा किसानलाई जब घाटा लाग्छ, तपाईं कहिल्यै पनि उसको साथमा उभिनुहुन्न। जब उसले एउटा आलुमा नाफा गर्छ, अनि ट्याक्स लगाइदिनुहुन्छ। एउटा कुखुरा फर्मको दयनीय हालत हुन्छ, टाट पल्टिन्छ। त्यतिबेला राज्य हुँदैन। जब उसले नाफा गर्छ, कुखुरामै ट्याक्स लगाइदिनुहुन्छ। गाई फर्म रोग वा प्रकोपले घाटामा पर्छ, त्यतिबेला राज्यको उपस्थिति हुँदैन। जब नाफामा हुन्छ, तब उपस्थिति हुन्छ।’
उनले राज्यको उल्लेखित चरित्रलाई सहयोगी चरित्र नभनिने बताए। ‘हिजो सामन्तकालमा राज्यको चरित्र दमनकारी थियो। अहिले लुटकारी छ। लुट, जति सकिन्छ लुट भनेजस्तो देखिन्छ। यस्ता सोचले हामी कहाँ जान्छौं भन्ने प्रश्न उठ्छ’, उनले भने।
साहले अहिले करको दायरा बढाएर आलु प्याजसम्म पुर्याइएको भन्दै असन्तुष्टि जनाए। ‘दर्दनाक अवस्था छ। देश आर्थिक संकटमा छ। मान्छेको बेहाल छ। तर तपाईं कर बढाएको बढायै गर्नुहुन्छ। कहाँसम्म पुर्याउनुभएको छ भने किसानहरुको ढाड भाँचिने गरी पुर्याउनुभएको छ। यस्ता कुराले कसरी देशमा समृद्धि आउँछ?’, उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।