काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत बजेट बजेटमा ‘गेम चेन्ज’मा होइन, कार्यक्रम र आयोजनाको ‘नेम चेन्ज’मा उद्यत रहेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा कुनै नयाँपन नभएको बताए।
‘बजेटमा विगतकै कार्यक्रमको निरन्तरता छ। थप केही छ भने नाराको भीड छ। तर ती नारालाई कार्यान्वयन गर्ने कार्यक्रम र तदनुरुपको विनियोजन छैन’, उनले भने।
पौडेलले कैयौं महत्त्वपूर्ण सडक, आधारभूत अस्पताल, बाँकी रहेको भूकम्पपछिको पुनर्निर्माण, विद्यालय भवन, औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम, हरेक प्रदेशमा निर्माण गरिने सरकारी स्वामित्त्वमा मेडिकल कलेज आदिका लागि न्यून बजेट विनियोजन गरिएको बताए।
‘भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्य रोजगारी जस्ता मानवीय विकासका कार्यक्रम तथा योजनाहरुमा गरिएका विनियोजन अत्यन्त न्यून र असन्तुलित छ’, उनले भने।
उनले थपे, ‘विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम, तराईका जिल्ला सदरमुकामको सहरीकरण सम्बन्धी कार्यक्रम, औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम लगायत कैयौं कार्यक्रम र आयोजनाहरुलाई या त हटाइएको छ, या त तिनको क्षमता कटौती गरिएको छ, या त विकृत तुल्याइएको छ, या त डाउन साइज गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।