काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका समस्या चिन्न नसकेको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि आफ्ना भनाइ राख्दै उनले समाधानका उपायसमेत पहिल्याउन नसकेको बताएका छन्।
उनले भने, ‘यो बजेटले अर्थतन्त्रका समस्या चिन्न सकेको छैन र समाधानका उपाय खोज्न पनि सकेको छैन। विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ। अर्थतन्त्रका चुनौती र सम्भावना पहिचान गर्न नसकेका कारण समधानका उपाय खोज्न सकेको छैन।’
रोजगारीका अवसरमा कमी हुँदै गएको, आकासिदो मूल्यवृद्धि र मन्दीको मारमा परेको अर्थतन्त्रका विषयमासमेत बजेट बोल्न नसकेको उनले बताए। वर्तमान यथार्थ स्वीकार गर्न नसकेको बताउँदै उनले थपे, ‘न वर्तमान संकटको सामाना गर्ने संकल्प छ, न पुनर्जीवन दिने प्रयत्न गरिएको छ।’
सरकारले अर्थतन्त्रमा लागेको डढेलो छोप्ने प्रयत्न गरेको उनको आरोप छ। अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भन्दै भ्रम छर्ने कोशिस भएको उनको भनाइ छ।
‘सरकारको आमदानी र खर्च गर्ने क्षमतामा यो बजेटले प्रश्न उठाएको छ। चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षको कूल विनियोजन कम हुनुले पनि स्रोत र साधन परिचालन गर्न सरकार असक्षम छ भन्ने देखाउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।