काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन्।
नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालासँगको सामूहिक छलफलमा थुप्रै कुरा छुट्ने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराए।
अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनी विश्लेषण गर्न पनि सरकारलाई उनले सचेत गराए। सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ। नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने पनि स्पष्ट पारे।
सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने नेता थापाको तर्क छ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यकता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।