काठमाडौं- घटना भएको १६ वर्षअघिको गौर हत्याकाण्डको छानबिन र अनुसन्धान हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
त्रिभुवन साह लगायतका पीडितहरुले उक्त घटना लामो समयदेखि राज्यशक्तिको दुरुपयोग गरेर अनुसन्धान हुन नदिइएकाले तत्काल अनुसन्धान गर्नु भनि अन्तरिम आदेशको माग गरिएको छ।
घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको जिकिर गरेका छन्।
उनीहरुले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन्।
२०६३ चैतमा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए। उक्त घटनामा सयभन्दा बढी घाइते भएका थिए।
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा मञ्च कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो।
राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा यस घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको थियो। आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान अघि बढाउनु भनि सिफारिस दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।