काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।
संसद् सचिवालयले सूचना टाँस गरेर अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी गराएको हो।
आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए। साथै, प्रधानमन्त्रीको भारत भ्रमणका कतिपय विषय पनि उठाएका थिए।
विपक्षी दलका सांसदहरुले आ-आफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले बैठकलाई एक घण्टाका लागि स्थगित गरिदिएका थिए।
बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा सहमतिको प्रयास भएको थियो। छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधि सभामा बजेटमाथि छलफल पनि हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।