भीमदत्तनगर– १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएपछि चर्किदै आएको आन्दोलन नियन्त्रणमा लिन कञ्चनपुरको भीमदत्तनगरमा लगाइएको कर्फ्यु केही खुकुलो पारिएको छ। आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म कर्फ्यु खुलाइएको थियो भने आज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए। शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यु लगाउन थालिएको हो।
भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइँदै आएको छ।
छानबिन टोली स्थलगत अनुगमनमा
पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ। दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ।
टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।