काठमाडाै– नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले महिलालाई वडा तहदेखि केन्द्रसम्म पार्टीका हरेक निकायमा ३३ प्रतिशत अारक्षण दिन माग गरेको छ ।
संघले संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजना गरेको ‘दीप प्रज्वलन तथा अन्तरक्रिया’कार्यक्रमका वक्ताले महिला अधिकार सुनिश्चित गर्नुपर्न माग गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधान संशोधनमा महिलाको अधिकारलाई सम्बोधन गर्न दबाब दिनुपर्ने बताए। ‘महिलाको हकअधिकारका लागि तपाईहरू संगठित भएर अगाडि बढ्नुहोस्, म तपाईहरूको साथमा छु’,उनले भने। नेता सिंहले नेपालका महिलालाई पुरुषसरह पुर्याउनका लागि स्व मंगलादेवीको योगदान रहेको उल्लेख गरे।
नेपाली कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको महिला अझसम्म पनि सुरक्षित हुन नसकेको भन्दै महिला अधिकारका लागि अझै लड्नुपर्ने बेला आएको बताइन्। महिला संघका उपाध्यक्ष सरस्वती तिवारीले नेपालमा एकतन्त्रीय राणाशासन फालेर प्रजातन्त्र ल्याउन मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको बताइन्।
महिला संघ महासचिव धना खतिवडा, मञ्जु खाँण, प्रदेश नं ३ का सांसद कल्पना नेपाली, पूर्वसांसद कल्याणी रिजाल, रमा गुरागाईं, महिला संघका अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले संघको संस्थापक अध्यक्षलाई पार्टीले सम्झन नसकेको भन्दै गुनासो व्यक्त गरिन्।
महिलाको हकअधिकारलाई सुरक्षित बनाउनका लागि वि.सं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना गरेका थिए । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।