कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन आइतबार बिहानदेखि अवरुद्ध भएको छ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनवासा) पुलमा चारपांग्रे सवारी साधनको अवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। बिहान गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ५२ हजार ६८ क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ।
गड्डाचौकी प्रहरीले बिहानदेखि भारतीय पक्षले पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारी साधन रोक लगाइएको छ। विगत लामो समयदेखि पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्दा आवागमनमा रोक लगाउँदै आएको छ।
उनले पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रहसमेत गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरमा विगत केही दिनयता भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।