कास्की– पाेखरा महानगरपालिका २१, कृस्तीमा गर्भवती महिलाका घरमा झन्डा गाडिने भएको छ। सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत झन्डा गाडिने वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए।
प्राथमिक स्वास्थ्य केन्द्रले आइतबार गरेको ‘प्रभावकारी व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम’मा अध्यक्ष आचार्यले झन्डा गाड्ने जनाएका हुन्। ‘कृस्तीमा अब सुत्केर हुनुभन्दा १ महिनाअघिबाटै झन्डा गाडिने छ,’ उनले भने। झन्डा गाड्न प्राथमिक स्वास्थ्य केन्द्रले समन्वय गर्ने उनले बताए।
वडाध्यक्ष आचार्यले सरक्षित मातृत्वका लागि वडा सचेत रहेकाले त्यतातर्फ ध्यान दिइरहेको जानकारी दिए। ‘वडाका सबै सुत्केरी महिला स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य चौकीमै जानेछन्,’ उनले भने, ‘स्वास्थ्य चौकीमा आउन नसके स्वयंसेविका नै उनीहरूको घरमा गएर सुत्केरी हुन सहयोग गर्नेछन्।’ वडामा अहिले ५० भन्दा बढी स्वास्थ्य स्वयंसेविका छन्।
उनले आगामी वर्ष स्वास्थ्य चौकी जान नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाले विशेष व्यवस्था गरेको जानकारी दिए। वडामा कोही पनि स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने छैनन्। यसका लागि आउँदो आर्थिक वर्षमा वडाले विशेष व्यवस्था गर्ने छ,’ उनले भने।
उनी प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्ष समेत हुन्। वडाध्यक्ष आचार्यले आफूले पाउने तलब पनि स्वास्थ्यकै लागि खर्च गर्ने घोषणा गरेका छन्। ‘मैले चुनावताका नै भनेको थिएँ, तलब लिँदिन भनेर। अहिले मेरो पुरा तलब ३ लाख २१ हजार रुपयाँ बैंकमा जम्मा गरेको छु। त्यसबाट आउने ब्याज पनि स्वास्थ्य मै लगानी गर्छु,’ उनले भने।
पहिले खानेपानी, त्यसपछि स्वास्थ्य, शिक्षा र अन्य भौतिक विकासमा वडाले बजेट विनियोजन गरेको उनले सुनाए।‘मान्छे जन्मेपछि सबैभन्दा पहिले चाहिने खानेपानी हो। त्यसमा मात्रै १ करोड बजेट छुट्याएका छौं,’ आचार्यले भने, ‘वडाका लागि आएको १ करोड ४८ लाख बजेट हो।’
स्वास्थ्यलाई प्रभावकारी बनाउन टोलटोल तथा घरघरमा डाक्टर कार्यक्रम चलाइएको उनले जानकारी दिए। वडामा स्कुल गएको ११ महिनासम्म आर्थिक अवस्था कमजोर भएकै कारण भर्ना गर्न नपाएका विद्यार्थी भेटिएकाले उनीहरूलाई पनि भर्ना गरिदिएको जनाए।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले प्रदेशले लक्ष्य प्राप्त गर्न एकीकृत रुपमा काम गर्नुपर्ने औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।