काठमाडौं– काठमाडौं उपत्यकामा चालकको लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कुल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापरबाहीले हुने गरेको छ।
आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापरबाहीले मात्र ५ हजार ९ सय ६१ दुर्घटना भएको छ। यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २ सय २१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापरबाहीले ३ र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन्।
दुर्घटनामा परी २ सय १९ गम्भीर र ४ हजार ३ सय ३३ सामान्य घाइते भएका छन्। महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी संख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए। ‘बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ’,उनले भने।
बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै ८ लाख सवारी साधन ओहोरदोहोर गर्छन्। आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १ सय ९४ जनाको मृत्यु भएको थियो। दुर्घटना भएका सवारी साधनमध्ये दुईपांग्रे सवारी साधन धेरै छन्। आव २०७४/७५ मा दुर्घटनामा मरेका १ सय ९४ मध्ये १ सय ४७ पुरुष र ४७ महिला छन्।
कुल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १ सय ११ छन्।
तारकेश्वरमा प्रहरी अभियान
स्थानीय तारकेश्वर नगरपालिकाका टोलटोलमा प्रहरी अभियानको शुभारम्भ गरिएको छ। नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबारदेखि उक्त अभियानको शुभारम्भ गरिएको हो।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख मनोज नेउपानेले नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिवृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथामजस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउन कार्यक्रमले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्था लगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे।
नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटा, तारकेश्वरका उपप्रमुख भवानी डोटेल, तारकेश्वर–११का वडाध्यक्ष बिन्दा बुढाथोकी लगायतले सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेकामा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।