काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा आज (आइतबार) तीन जनाको बयान भइरहेको छ।
आइतबार जिल्ला अदालत काठमाडौंमा प्रतिवादी तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप र टंककुमार गुरुङको बयान भइरहेको अदालतले जनाएको छ।
आइतबार यी तीन जनाको बयान सक्ने तयारी अदालतको छ। यसअघि शुक्रबार केशव दुलाल र पूर्ववडाध्यक्ष समेत रहेका सागर राईको बयान गरिएको थियो। यो प्रकरणमा १७ जना पक्राउ परेका छन्। बाँकी १३ जनालाई फरार प्रतिवादी बनाइएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यी तीन जनाको बयान भइरहेको छ। यसअघि पनि दुलाल र राईको बयान पनि न्यायाधीश न्यौपानेकै इजलासमा भएको थियो।
पक्राउ परेको सबै १७ अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि ४ जना सरकारी वकिलले तयारी गरिरहेका छन् भने प्रतिवादीका तर्फबाट ५० भन्दा धेरै कानुन व्यवसायी हुने देखिएको छ।
उनीहरूले पूर्पक्षका लागि थुनामा राख्न नहुने तर्कसहित बहस गर्नेछन्। उनीहरूको बहसपछि न्यायाधीश न्यौपानेले धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय गर्नेछन्।
थुनछेकपछि जिल्ला अदालतले फरार रहेकाहरुको हकमा म्याद जारी गर्ने छ। उनीहरूको म्याद तामेली भएसँगै उनीहरूको हकमा पनि थुनछेक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।