काठमाडौं– पूर्व एमाले र माओवादी केन्द्रको एकीकरण प्रति असन्तुष्टि जनाउँदै आएका नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किँरातीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई एमालेकरण गरेको आरोप लगाएका छन्।
विघटित माओवादी केन्द्रलाई पुर्नगठन गरेको बताउने किँरातीले प्रचण्डले जनयुद्धले उचाइमा पुर्याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का भएको तर्क गरे। माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रियामा पार्टी एकता राष्ट्रहित विपरित भएको दाबी गरे।
पशुपतिनाथमा नेपाली पुजारी भित्र्याउने काममा प्रचण्डले सहयोग नगरेको दाबी गरे। उनले प्रचण्डको चरित्र विस्तारै उदांगिदै गएकोसमेत आरोप लगाए।
वाम विश्लेषक प्रा डा गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको जिकिर गरे। उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे। सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे।
कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले २१औं शताब्दिको परराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्नेमा जोड दिए। केसीले विदेशी रिझाउने र व्यक्तिगत फाइदा लिने किसिमले नीति बनाइएको बताउँदै भने,‘मुखमा समाजवाद भन्ने तर विदेशीलाई फाइदा हुने र देशलाई टाट पल्टाउने नीति छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।