काठमाडौं- केही नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाणबाट देखिएका वा देखिन सक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा उभ्याउन सरकार चुक्न नहुने बताएका छन्।
बुधबार एक आग्रह प्रकाशित गर्दै उनीहरुले दण्डहीनता हाबी हुने गरी मुद्दा दायर हुन लागेको भन्दै आपत्ति व्यक्त गरेका छन्।
यसको अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हाबी हुने गरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ उनीहरुको भनाइ छ।
आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुने उनीहरुको चेतावनी छ।
अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले सो आग्रह सम्प्रेषण गरेका हुन्।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार नै जिल्ला अदालत काठमाडौंमा तीस जनालाई आरोपी बनाउँदै मुद्दा दर्ता गरेको थियो। उसले २२४ पृष्ठको अभियोग पत्र दायर गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।