पाँचथर– पाँचथरको फालेलुङ गाँउपालिकाका विभिन्न खर्कका भेडीगोठमा १ सय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन्।
सुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रुपमा पालेका १ सय ३५ वटा भेडा बिरामी परेका छन्।
यसरी बिरामी परेका भेडाले करीब एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडीगोठ सञ्चालक मनप्रसाद केरुङले बताए।
यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। उनका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्को हुँदै साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमासमेत देखिएको थियो।
ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्णरुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।