कञ्चनपुर– कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको हो।
१० बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो।
५ घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षाबन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ। नगरक्षेत्रमा सवारी साधनहरुको पनि चहलपहल बढेको छ। अहिले भीमदत्त नगरपालिका बजार क्षेत्रको अवस्था समान्य रहेको बताइएको छ।
सरकारले शनिबार बुलुका कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको थियाे। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवार तथा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेकाे थियाे। सोही घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि खुन्नाको शुक्रबार मृत्यु भएको थियो। बैठकले अान्दाेलनका क्रममा घाइते भएकाहरूकोे निःशुल्क उपचार गर्नेसमेत निर्णय पनि गरेको छ।
घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिलाई समिति गठन भएपछिको घटनाको छानबिन गर्न पनि अख्तियारी दिने निर्णय भएको छ ।
त्यसैगरी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।
शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो।
मन्त्रिपरिषद् बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्नेसमेत निर्णय गरेकाे थियाे।
निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ। प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन। गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ।
गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा निर्मलाको हत्या भएको थियो। प्रहरीले रोशनीलाई शनिबार मात्र पक्राउ गरेको छ। सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।