माया ज्ञवाली
काठमाडौं– २०५० जेठ ३ गते भएको दुर्घटनामा नेकपा एमालेले २ शीर्ष नेता गुमायो, पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित। भण्डारी पत्नी विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति बनिन्, राजनीतिक रुपमा प्रभावशाली भइरहिन्। आश्रितकी श्रीमती माया ज्ञवाली न्यौपाने भने २०७४ मा प्रतिनिधि सभा सदस्य बनिन्। उनी राजनीतिक रुपमा खासै प्रभावशाली व्यक्ति होइनन्।
उनै ज्ञवालीले आश्रितको मृत्युबारे अनौठो विषय सार्वजनिक गरेकी थिइन्, नेपाल लाइभसँग। २०७४ फागुन २ गते नेपाल लाइभमा प्रकाशित अन्तर्वार्तामा उनले आफूले आश्रितको मृत्युको औपचारिक जानकारी त्यसै दिन बेलुका थाहा पाएको तर त्यसरी जानकारी पाउनुअघि अञ्जान व्यक्तिको फोन आएको बताएकी थिइन्।
‘कमरेडको मृत्यु भएको मैले त्यही दिन थाहा पाएँ। म भर्खर अफिसबाट आएको थिएँ। केटाकेटी पनि स्कुलबाट आएका थिए। कसैले झापाबाट फोन गर्नुभयो। आश्रितजी कहाँ जानुभयो त भन्नुभयो। मैले पोखराबाट फर्किंदै हुनुहुन्छ, पूर्व जाने कार्यक्रम छ भनेँ। मैले फोन गर्ने मान्छेको स्वर अहिले पनि चिन्दिनँ, आवाज पनि रेकर्ड छैन। तर, फोन राख्नुभन्दा अगाडि उहाँले भन्नुभयो– अब उहाँ खोलैखोला जानुभयो। ‘अब थाहा पाउनुस्, उहाँ खोलैखोला जानुभयो’ भनेर फोन राखिदिनुभयो। मैले पहिलो फोन त्यस्तो सुनेँ,’ उनको भनाइ थियो।
आफूले त्यतिबेला फोन गर्ने व्यक्तिको कुरा नबुझेको र आफूले पनि कसैलाई फोन नगरेको उनको भनाइ थियो। ‘केही बेरमा मनमोहन अधिकारी, प्रदीप नेपाल आउनुभयो। पछि माधव नेपाल पनि आउनुभयो। पछि कुरा बुझियो,’ उनको भनाइ थियो।
अन्तर्वार्ता पढ्नुहोस्- जीवराज कमरेडको निधनपछि चुनाव नलड्नु मेरो गल्ती रहेछ : माया न्यौपाने
आश्रितको मृत्युको चार वर्षपछि एमाले विभाजन भएको थियो। वामदेव गौतम र सीपी मैनालीहरुले नेकपा माले गठन गरेका थिए। ‘म माले भएँ। मेरो जीवन अब राजनीतिमै सक्रिय भएर जान्छ भन्ने लागेको थियो। तर, मालेमा जस्तो यता एकीकृत भइसकेपछि भइएन,’ उनले भनाइ थियो।
उनले मनमोहन अधिकारी र सहाना प्रधानले आफूलाई आश्रितको जन्मथलोमा निर्वाचनमा लड्न भनेको ज्ञवालीले बताइन्। आश्रित २०४८ सालको निर्वाचनमा गुल्मी २ मा कांग्रेस उम्मेदवार भागवत ज्ञवालीसँग पराजित भएका थिए। तर आफूले त्यहाँ गएर चुनाव लड्न नचाहेको बरु राष्ट्रियसभामा जाने रुचि देखाएको उनले बताइन्। ‘मलाई राष्ट्रियसभामा भने लगिएन। त्यतिबेला चुनाव नलड्नु मेरो गल्ती रहेछ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।