काठमाडौं- नेपाल आयल निगमले पेट्रोल तस्करी गरेको भन्दै ट्यांक चालकलाई ढुवानी गर्ने कार्यमा सधैंका लागि प्रतिबन्ध लगाएको छ। क्षमताभन्दा बढी पेट्रोल बोकेर तस्करी गरेको पाइएपछि नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै करबाही गरेको बताएको हो।
‘ट्रकको क्षमता र इण्डियन आयल कर्पोरेसनको इनभ्वाइसमा उल्लेख भएको २० किलोलिटर परिमाणभन्दा बढी पेट्रोल ढुवानी गरेकोले भैरहवा भन्सार कार्यालयबाट उक्त ट्यांकरलाई नियन्त्रण लिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त ट्यांकर श्री एक्सप्रेस परिवहन सेवा प्रालीको नाममा रेहेको लु२ख ४८३९ नम्बरको रहेको आयल निगमले जनाएको छ।
निगमले ढुवानी कर्ता र चालकालाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार कारबाही गरेको छ।
उक्त विनियमावली अनुसार ट्रकको ढुवानी रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निगमले जनाएको छ। यस्तै, उक्त ट्रकलाई ढुवानी गर्नलाई ३ महिनाको लागि निलम्बन गर्ने निगमले निर्णय गरेको छ।
‘ट्यांकर चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।