काठमाडौं– भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिएको छ। यसको प्रभावले शनिबार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हावा चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार रातिसम्म ती प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। हावाको गति तीव्र हुने क्रम आइतबार दिउँसोसम्म कायम रहन सक्ने मौसमविद्ले बताएका छन्।
आइतबार दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा आसपासका क्षेत्रमा तुलनात्मक रूपमा बढी तीव्र हावा चल्न सक्ने विभागको पूर्वानुमान छ।
भू–उपग्रहबाट प्राप्त तल्लो वायुमण्डलको हावाको अवस्थासम्बन्धी तस्बिरले पनि तराईका विभिन्न क्षेत्रमा हावाको गति बढेको देखाएको विभागले जनाएको छ।
तीव्र हावाका कारण रूख तथा विद्युत् संरचना ढल्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा अन्य जोखिम निम्तिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।