प्रतिकात्मक तस्बिर
काठमाडौं– आइतबार मध्याह्नदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हल्का वर्षा भइरहेको हो।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ। ‘पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने।
काठमाडौंमा आइतबार बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ। उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ।
‘मोखा’ चक्रवातको प्रभाव छैन
बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ। मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताए।
‘चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन,’ उनले भने, ‘नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ।’
उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।