नयाँदिल्ली- भारतको कर्नाटक विधान सभा निर्वाचनको सुरुवाती रुझानमा भारतीय कांग्रेस पार्टीले ११० सिटमा अग्रता कायम गरेको छ। सत्ताधारी भारतीय जनता पार्टीले ७१ सिटमा मात्र अग्रता लिएको छ।
निर्वाचन आयोगको आधिकारिक तथ्यांकअनुसार २२४ क्षेत्रमध्ये २०२ सिटको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। त्यस्तै जेडीएस २३ सिटमा अगाडी रहेको छ भने तीन सिटमा निर्दलिय स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन्।
केन्द्रीय सरकारको नेतृत्व गरिरहेका नरेन्द्र मोदीले उक्त क्षेत्रमा यस पटक पनि आफ्नो सरकार बनाउनका लागि निर्वाचनअघि सडक यात्रा समेत गरेका थिए। तर निर्वाचनको नतिजा कांग्रेस आईतिर फर्केको छ।
यस पटक उक्त राज्यमा ७३.१९ प्रतिशत मतदान भएको थियो। यो एक आफैंमा रेकर्ड थियो। निर्वाचन सम्पन्न भएपछि सार्वजनिक सञ्चार माध्यमले गरेको एग्जिट पोलले कांग्रेसले बहुमत ल्याउने र सत्ताधारी भाजपाले हार बेहोर्नुपर्ने अनुमान गरेका थिए।
अहिले उक्त राज्यमा भाजपाका बासवराज बोम्मई मुख्यमन्त्री छन्। उनले आफ्नो सरकार पुन: सत्तामा आउने दाबी गरेका थिए तर यो सम्भव नहुने प्रारम्भिक मतगणनाको रुझानले देखाएको छ।
यो राज्यमा सन् १९८५ पछि कुनै पनि पार्टीले दोस्रो पटक बहुमत ल्याएर सरकार बनाएको रेकर्ड छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।