मस्को- रूसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताएका छन्।
रूसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उनले यस्तो टिप्पणी गरेका हुन्।
प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भनेका छन्, ‘यसलाई ‘रिग्रुपिङ’ भनिँदैन, भगाइ हो।’ प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू शहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताएका छन्।
‘सैन्य इकाइहरू असफल भइरहेका छन्। मोर्चा ढल्दैछ,’ क्रेमलिनका सहयोगी रहेका उनले बताए। युक्रेनी सेनाले बाखमुत नदीको जलासय र सामरिक उचाइमा रहेका स्थान कब्जा गरेको उनले दाबी गरे।
कीएभको सेनाले यसपहिले रूसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो शहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो। उनको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन।
यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो।
यद्यपि, रूसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर (६० माइल) क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ।
प्रिगोजिनले भने, ‘सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ। यो अघि बढेको छ र यसले रूसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ,’ उनले थपे, ‘यस कारण हामीले तुरुन्तै झुट बोल्न छोड्नुपर्छ।’
प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो। प्रिगोजिनले रूसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ।
- एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।