यसो सोच्नुस् त,
नेपाली भाषा बोल्ने, नेपाल र नेपाली संस्कृतिलाई माया गर्ने भुटानी नागरिकहरू नेपाली मूलको भएकै कारण देशनिकाला भए। ती दुधे बालक काखमा च्यापेर, एकसरो लत्ताकपड़ा बाहेक जीवनमा कमाएको सर्वश्व छोडेर जसोतसो ज्यान जोगाउँदै शरण माग्न आफ्नै पुर्ख्यौली भूमि नेपाल आइपुगे।
नेपालले न कूटनीतिक पहल गरेर तिनलाई थातथलो फर्काउन सक्यो, न तिनलाई शरण दिन सक्यो। झन्डै एक पुस्ता तिनले शरणार्थी शिविर भनिने पानी चुहिने झुप्राहरूमा बिताए। विश्वका थुप्रै सङ्घसंस्थाहरूले तिनलाई राशनपानी र सहयोग नगरेको भए ती भोकभोकै र औषधोपचार नपाएर मर्ने थिए।
मनमा श्रद्धा, माया र आफ्नोपन भएको नेपालले तिनलाई अपनाएन, न जन्मभूमि भूटानले। भूटानले त ती नेपाली नै भएको र नक्कली भूटानी भएको आरोप लगाइरह्यो। ती दूधे बालक अनागरिक भएरै हुर्किए। नागरिकता नहुँदा यो विश्वमा, नेपालमा जीवन कति कष्टकर हुन्छ, सबैलाई थाहै छ। त्यसमाथि आजीवन शरणार्थीको सामाजिक हेला र तिरस्कारको कुरो नगरौं।
रगतको नाता भएको, एउटै भाषा र संस्कृति भएको र आत्मा एउटै भएको नेपालले दुःख र संकटको घडीमा आफ्नो छाती खुला गर्न सकेन। मान्छेलाई आजीवन शरणार्थी बनाउनु, नागरिक हकअधिकारबाट बञ्चित गर्नु पाप हो भन्दै कहीँ कतै कुनै सम्बन्ध नभएका युरोप र अमेरिकाले तिनलाई करोडौं खर्चेर आफ्नो देशमा नागरिकता दिन तयार भए। यो विशुद्ध मानवीय सहायता थियो। हजारौं बालबालिका नागरिकताविहीन भएर शहर र गल्लीमा नारकीय जीवन बिताउनु नपरोस् भन्ने सदाशयता थियो।
हामी पहिले नै निष्ठुर बनिसकेका थियौं। ती शरणार्थीहरूको आत्मसम्मानमा पहिल्यै ठेस लागेको थियो। तर तिनलाई कसैले मानवीय करुणा राखेर पुनर्वास गराउँदा समेत हामीले गिद्धे नजर राख्यौं। यस्तो मानवीय सहयोगमा समेत सिङ्गो देश नै भाग खोस्ने र कमिसन खाने षड्यन्त्र र कीर्तेमा लागेको यस्तो घटिया उदाहरण विश्वमा बिरलै भेटिएला। सिङ्गो राज्य संयन्त्रले, देशका ठूला भनिएका दलहरूले त्यस्तो मानवीय सङ्कटलाई कमाउने भाँडो बनाएका रहेछन्। कति निर्दयी र भक्षक रहेछौं हामी! ती १ लाख भूटानी शरणार्थीको आत्माले के सोच्दै होला? तिनलाई नेपाल र भुटानले स्वीकार नगरेपछि सिङ्गो पुस्ता बर्बाद नहोस् भनेर दया राखेका देशले के सोच्दै होलान्? आज हरेक भूटानी मूलका व्यक्तिहरूलाई नक्कली हुन् कि भनेर ती देशले, नागरिकले शङ्का गर्दै छन्। नेपालीमाथि कतै भूटानी भाग खोसेर आएका पो हुन् कि भनेर हेर्दै छन्। नेपाल भन्ने सगरमाथा र बुद्धको देश थियो, आज मानवतस्कर र संवेदना बेच्ने निकृष्ट व्यापारीको देश भएको छ। कति ठूलो पाप होला यो।
देशमा रोहिङ्ग्या शरणार्थी छन्। तिब्बती शरणार्थी छन्। बर्मादेखि भारतीय राज्यमा नेपालीभाषीमाथि राजनीतिक दमन भयो भने तिनले नेपालमैं शरण लेलान्। देशले कुन मुखले भारतसँग वार्ता गर्ला? उसले ती नक्कली हुन् भनिदियो र भूटानी शरणार्थीको नजिर दियो भने के होला? भोलिका दिनमा बर्मासँग कसरी नेपालले ती बर्मेली नै हुन् भनेर अडान लिन सक्ला? हाम्रा कागजपत्र, प्रमाण र सरकारी दस्ताबेज नै नक्कली हुने भएपछि भोलि देशको सीमाबारे लड्न पनि मुस्किल हुन्छ। देशका हक र अधिकारबारे अनेक फोरममा जुध्न पनि मुस्किल हुन्छ। सोच्नुस् त, देश नै कीर्ते भएपछि के हुन्छ?
विश्वास कुनै पनि देशको सबैभन्दा ठूलो पूँजी हो। विश्वसनीयता ठूलो शक्ति हो। आज देशले त्यो गुमाएको छ। पैसा कमाउन हाम्रो जात जुन हदसम्म जान पनि तयार छ भन्ने देखाएको छ। मानवतासँग, मानवीय भावनासँग हाम्रो कुनै सम्बन्ध र सम्मान छैन भन्ने देखाएको छ। अन्य आर्थिक भ्रष्टाचारसँग यो राक्षसी प्रवृत्तिलाई तुलना गर्न सकिन्न।
देशको अनुहारमा लागेको कालोमोसो हो यो। हाम्रो आत्मामा लागेको कलङ्क हो यो। यस्तो अमानवीय र देशद्रोही घटनामा यदि आफ्नो दल भएकै कारण तपाईं नरम हुनुहुन्छ, राजनीति गर्न चाहनुहुन्छ या अनेक बाहिरी प्रसङ्ग जोडेर यो मुद्दालाई कमजोर बनाउन चाहनुहुन्छ भने कृपया मेरो फेसबुक लिस्टबाट हटिदिनुहोला! म तपाईंजस्तै या तपाईं मजस्तै बनेको दिन फेरि भेट होला! त्यतिञ्जेल माफी चाहन्छु!
(कवि गाउँले लन्डनमा बसोबास गर्छन्। यो आलेख उनको फेसबुक पोस्टबाट लेखकको अनुमति लिएर प्रकाशित गरिएको हो। सं.)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।