काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा रहेको गणेश खोला पुलमा आएको समस्या कारण बुधबार पनि राजमार्ग अस्तव्यस्त भएको छ। सोमबार पुलको मुखमा जमिन भासिएको थियो। पुलको फाउण्डेसनसँगै लगाइएको पर्खाल पहिरोले बग्नुका साथै पुलपनि प्वाल परेको थियो।
पुलको मुखैमा गाडी नै छिर्ला जस्तो भ्वाङ बनेपछि सोमबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो। मंगलबार केही मर्मत गरेर खोलिएको थियो तर बुधबार पुन: अवरुद्ध भएको हो।
पृथ्वी राजमार्गको धार्के खण्डमा सवारी ठप्पै भएपछि ठूलो मात्रामा जाम लागेको छ। सोमबार र मंगलबार यहाँ आइपुगेका यात्रुहरू नौबीसे र खानीखोलासम्म पैदल हिँडेर अर्को गाडीमा काठमाडौं आएका थिए। हिँड्न नसक्ने र टाढाबाट आएकाहरु अधिकांशले आ-आफ्नै गाडीमा रात बिताएका थिए।
सडक डिभिजन कार्यालय भरतपुरका सिनियर इन्जिनियर रमेशप्रसाद पौडेलले पनि नयाँ पुलको फाउण्डेसन खन्ने क्रममा माटो पहिरो गएको र मर्मत कार्य जारी रहेको बताए। उनले एकतर्फी रुपमा चलाउने प्रयास भइरहेको र दुई दिनसम्म सवारी राम्रोसँग दुई तर्फ पास हुन नसकेका कारण जाम भएको बताए।
नागढुंगा मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीले वर्षाको पानीले पुल भासिएको र मर्मतको गरेर सवारी आगमन सुचारु हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।