काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अयोग्य लडाकूलाई पैसा दिने निर्णय खारेज गर्नुपर्ने बताएको छ।
शुक्रबार प्रतिनिधि सभा बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई उठ्नुको कारण राख्न समय दिएका हुन्।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा ढुंगामुढा गरिएको विषयलाई उल्लेख गरेका थिए। साथै तत्कालीन माओवादीका पूर्वअयोग्य लडाकूलाई सरकारले २ लाखका दरले दिने भनिएको निर्णय खारेज हुनुपर्ने बताए।
उनले भने, 'विभिन्न आयोजना शिक्षक र कर्मचारीलाई तलबभत्ता ५ अर्ब, वृद्धवृद्धालाई सामाजिक सुरक्षा विमा र विपन्नलाई दायित्व भुक्तानी गर्नुपर्नेछ। १ खर्ब २० अर्बभन्दा बढी अनिवार्य दायित्व छ। स्थानीय र प्रदेशलाई दिने ५० प्रतिशत कटौती गरिएको छ। नियमित काम हुन नसकेको अवस्था छ। माओवादी ४८ सयभन्दा बढी व्यक्तिलाई दुई दुई लाख बाँडिदैछ। यो सह्य हुँदैन।'
उनले यसअघि माओवादी केन्द्रले ९५ करोड रुपैयाँ बुझेको तर त्यसको हिसाब नदिएको उनले बताए। साथै त्यसबार महालेखाले प्रश्न समेत उठाएको उल्लेख गरे। आमजनताले नुनतेल किन्न नसक्ने अवस्था रहेको तर सरकार राजय ढुकुटीबाट जथाभावी पैसा बाँडिरहेको उनको आरोप छ।
उनको प्रश्न छ, ‘शान्ति प्रक्रिया पूरा गर्न चालु आर्थिक वर्षमा एक अर्ब ४० करोड छुट्याइयो, ती काम पूरा गर्न सरकारको ध्यान छैन। देशको ढुकुटीबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई बाँड्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।