काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने भन्नेबारे अहिले नसोचिएको बताएका छन्। बरु सरकारलाई दिएको समर्थन फिर्ताका सन्दर्भमा भने छलफल हुने उनको भनाइ छ।
वैशाख १० गतेको उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएर शुक्रबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारमा सहभागी हुनेभन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी भएको बताए।
‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्नेमा छलफल गर्नुपर्ने हुन्छ,’ लामिछाने भने। उपनिर्वाचनबाट निर्वाचित भएर शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्ने लामिछानेको भनाइ छ।
सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए। ‘त्यस्तो (समर्थन फिर्ता लिने) सम्भावना बढी देखिन्छ। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने।
सभापति लामिछानेले आफू चितवन २ बाट निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेको बताए। प्रचण्डले आफूलाई बधाई दिन फोन गरेको र सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्नेबारेको आफ्नो अभिव्यक्तिबारे चासो व्यक्त गरेको लामिछानेको भनाइ छ।
मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुको औचित्य नभएको बताएका थिए।
शुक्रबार पनि लामिछानेले जुनसुकै समयमा भएको भ्रष्टाचारका घटनामाथि छानबिन गर्ने भन्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले समर्थनका विषयमा गम्भीर समीक्षा हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।