काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकी छिन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको नीरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन बिहीबार गृह मन्त्रालयमा पुगेकी डंगोलले नागरिकले असुरक्षित महसुस गरिरहेको बताइन्।
अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको उल्लेख गरिन्। आपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सीसी क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि उपप्रमुख डंगोलले दिइन्।
अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट छिट्टै निचोड आउने प्रतिवद्धता पाएका छौँ। कसरी र के भएको हो भन्ने कौतुहल छ। साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ,’ उनले भनिन्, ‘महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।