काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको नेतृत्व आलोपालो हुने बताएका छन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएपछि पोखरामा पत्रकारहरुसँगको कुराकानीमा उनले गठबन्धन पनि प्रदेश सभाको बाँकी अवधिभर जाने बताए।
'मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ। त्यो पहिलेजस्तो लामो समय जाँदैन। मन्त्रिपरिषद्लाई छिट्टै नै पूर्णता दिन्छौँ। र सात वटा मन्त्रालयभन्दा बढ्दैन', उनले भने।
उनले मन्त्रालयका बारेमा गठबन्धनभित्र छलफल भइरहेको बताए। ' मन्त्रिपरिषद्लाई पूर्णता दिन विशेषरी माओवादी केन्द्रसँग छलफल हुन्छ', उनले भने।
पाण्डेले शुक्रबा १२:१५ को समयमा सपथ गर्ने सल्लाह भइरहेको बताए। सपथ ग्रहणमा आफू एक्लै नभएर केही मन्त्रीको साथमा लिने आफ्नो चाहना भएको उनको भनाइ छ।
पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख गुरुङले बिहीबार अपराह्न ४ बजेको समयसीमा दिएका थिए। सो समयमा पाण्डेले कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित सांसद दीपक मनाङ्गेसहित ३५ सांसदको हस्ताक्षर बुझाएका थिए।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकारको नेतृत्व कसले गर्ने भनेर कांग्रेस र माओवादी केन्द्रबीच विवाद देखिएको थियो। तर, शीर्ष तहमै पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति जुटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।