काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीले दाबी पेश गरेका छन्। दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनद्वारा बिहीबार अपराह्न ४ बजेको समयसीमा दिइएको थियो।
चौधरीले प्रदेश सभाका विभिन्न ८ दलका ५३ सदस्यको हस्ताक्षर सहित दाबी पेश गरेका हुन्। उनलाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले समर्थन दिएका छन्।
यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री बनेका लीला गिरीले दोस्रो पटक विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।