काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनै जना प्रतिनिधि सभा सदस्यलाई बधाई दिएका छन्।
एक वक्तव्य जारी गर्दै महामन्त्री थापाले चितवन–२ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने, तनहुँ–१ बाट निर्वाचित डा स्वर्णिम वाग्ले र बारा–२ बाट निर्वाचित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका हुन्।
उनले समुन्नति र सुशासनका लागि संसद्को यो कार्यकाललाई उपलब्धिमूलक बनाउन सहकार्य हुने बताए। बधाईका साथै थापाले आफूहरु पनि छिट्टै कांग्रेस रुपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने दाबी गरेका छन्।
उपनिर्वाचनको परिणामले कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने सन्दर्भमा विभिन्न बहस भइरहेको भन्दै महामन्त्री थापाले राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धिकरण र कांग्रेस रुपान्तरणको अभियानलाई सहयोग पुग्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।