काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन- २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूलाई फूल र मुस्कानमा विश्वास भएको बताएका छन्। बुधबार चितवनको मुग्लिङमा आयोजित धन्यवाद सभामा सम्बोधन गर्दै उनले २१ सिटको यात्रा फूलबाट तय भएको बताए।
'२१ सिटको यात्रा फूलबाट तय भयो। अब बाँकी यात्रा पनि फूलले नै तय गर्नेछ। मुस्कानले तय गर्नेछ। मलाई फूलमा विश्वास छ। मलाई बन्दुकमा विश्वास छैन। मलाई फूलमा विश्वास छ। घृणामा विश्वास छैन। मुस्कानमा नै विश्वास छ', उनले भने।
उनले मात्तिएर र आत्तिएर राजनीतिमा नहुने बताए। उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पंक्तिलाई हेर्ने बताए।
उनले अरु दलको आलोचनामा नगर्ने बताए। सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए।
'सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ', उनले भने।
सो सभामा बारा- २ बाट पराजित रमेश खरेल र तनहुँ- १ बाट विजयी स्वर्णिम वाग्लेले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।