काठमाडौं– राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बताएकी छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएकी हुन्।
उनले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्नेगरी तलब व्यवस्था नगर्दासम्म पनि भ्रष्टाचार रहिरहने बताइन्। नीति निर्माणको तहमा भ्रष्टाचार हुने उनको भनाइ छ। न्यौपानेले दलाल पुँजिपति र निश्चित घरानाहरुको हीतमा नीति बनाइने गरेको आरोप लगाइन्।
उनले भनिन्, ‘जताजतै भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचार नीति निर्माणमा छ। पोलिसी क्याप्चर गरिएको छ। धनाड्यहरुको हितमा, दलाल पुँजिपतिहरुको हितमा, निश्चित घरानाहरुको हितमा नीति जे बनाइन्छ, यसलाई नियन्त्रण नगरेदेखि यो देशमा अर्थतन्त्र सुदृढ हुँदैन।’
उनले निर्वाचनमा उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसरी जितेर आएको उम्मेदवारले भ्रष्टाचार गर्ने सम्भावनाप्रति गम्भिर हुनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।