काठमाडौं– राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन्।
उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने धारणा राखिन्। देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको भन्दै विचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको उनको भनाइ थियो।
उनले भनिन्, ‘दिनानुदिन भ्रष्टाचार बढिरहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनुको साथै विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ। हाम्रो व्यापार घाटा बढिरहेको अवस्था, नेपालको वैदेशिक मुद्राको सञ्चिति तीव्र गतिले घटिरहेको हुँदा ऋण लिनुपर्दा अत्याधिक व्याज तिर्नुपर्ने अवस्था, उद्योग, धन्दा बन्द हुन लागेको अवस्थामा, श्रीलंकाजस्तो आर्थिक संकट नआउला भन्न नसकिने अवस्थामा हाम्रो गम्भिर ध्यानआकर्षण भएकाले यसलाई नेपाल सरकारले गम्भिरतापूर्वक लिनु अति आवश्यक छ।’
उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन्। न्यून बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।