काठमाडौं– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका हुन्।
उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे। बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र विचौलियाले बोरामा लुकाएर राख्ने गरेको उनको जिकिर थियो।
उनले भने, ‘सरकारले दुई चारवटा काम मात्रै गरिदिए पुग्छ। यसले अर्थतन्त्रमा केही राहत पनि पुग्छ। बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन् भन्ने सुनिन्छ। मेरो अनुरोध छ। रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउँछ।’
उनले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालू खर्च धान्नुपर्ने अवस्था रहेको बताए। नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजश्व संकलन अनुपात भारीमात्रामा घटेको, उद्योगी व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।