काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अवाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।
उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे।
प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सैह्य नहुने चेतावनीसमेत दिए।
प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि उनले सत्तारुढ दल र सरकारलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।