काठमाडौं– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। उनले ३४ हजार ९१९ मत पाएर जित हासिल गरे।
निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे।
नेकपा एमालेले भने आफ्नै मत समेत जोगाउन सकेन। नेकपा एमालेबाट उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले जम्मा ८ हजार ४८८ मत पाए।
तनहुँ १ गएको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेले विजयी भएको क्षेत्र हो। त्यसकारण प्रतिनिधि सभामा संख्याका हिसाबले कांग्रेसले हानी बेहोरेको छ। मत अनुपात हेर्दा तनहुँ- १ मा कांग्रेसलाई भन्दा धेरै हानी एमालेले बेहोरेको छ।
अध्यक्ष केपी शर्मा ओलीसँग समधुर सम्बन्ध बनाएर ६ महिनामा दुईपल्ट टिकट पाएका खनाललाई तनहुँ- १ का एमालेले नै अस्वीकार गरेका छन्। मंसिर ४ को निर्वाचनमा एमालेले पाएको मतको आधाभन्दा पनि कम मतमा सर्वेन्द्र खुम्चिएका छन्।
मंसिर ४ को निर्वाचनमा एमाले उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए। समानुपातिकमा एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो।
यसरी हेर्दा रानाले लोकप्रिय मत ३ हजार बढी तानेका थिए भने एमालेको सांगठनिक मत नै १६ हजार भन्दा बढी थियो। यसपल्ट एमालेको भोट आधा हुनु रास्वापाका स्वर्णिम वाग्लेको लोकप्रियता मात्रै होइन, खनालको अलोकप्रियता पनि उत्तिकै देखिन्छ।
कांग्रेसले पराजय बेहोरेको छ, तर आफ्नो भोट भने जोगाउन ‘सफल’ भएको छ। गएको निर्वाचनमा पौडेलले २५ हजार ल्याएपनि कांग्रेसले समानुपातिकमा २० हजार १ सय ५८ मत पाएको थियो। यसरी हेर्दा जम्मा ४६ मत कम कांग्रेसका उम्मेदवारले पाएका छन्।
वडागत मत केलाउँदा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले जितेका धेरै वडामा वाग्लेले अत्याधिक मत ल्याएका छन्। एमालेले देवघाट गाउँपालिकाको एउटा वडाबाहेक कहीँ पनि आफ्नो भोट जोगाउन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।