काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ १ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई जित हासिल गरेकोमा बधाई दिएका छन्।
आफूले मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन नसकेको, तर वाग्लेले विश्वास दिलाउन सकेर जित हासिल गरेको भट्टराईको भनाइ छ।
भट्टराईले तनहुँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सकोस् भन्दै वाग्लेलाई शुभकामना पनि दिएका छन्।
वाग्लेलाई सम्बोधन गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्:
प्रिय स्वर्णिमजी !
सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई!
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो।
र, संयोगले तपाईं निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ।
मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु। अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।
यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ।
केही समय अगाडि मात्रै कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
कांग्रेसको गढका रुपमा रहेको यो निर्वाचन क्षेत्रमा स्वर्णीमले ऐतिहासिक जित निकालेका हुन्। वाग्लेले ३४ हजार ४८० मत प्राप्त गरेका छन्।
सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिएका कांग्रेसका भट्टराईले २० हजार ९२ मत पाएका छन्। भट्टराईभन्दा वाग्लेले १४ हजार ३८८ मत बढी प्राप्त गरे। यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ८ हजार ५५५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।