तनहुँ १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराई काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा प्राप्त मतलाई लिएर नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले गठबन्धनमा इमान्दारिता नदेखिएको भन्दै प्रश्न उठाउन थालेका छन्।
गठबन्धनबाट गण्डकी प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेका नेकपा माओवादी केन्द्रका प्रदेश सांसद हरि चुमानको वडा (आँबूखैरेनी गाउँपालिका–२) बाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई कम मत मिलेको भन्दै कांग्रेस कार्यकर्ताहरुले विरोध गरेका हुन्।
आँबूखैरेनी गाउँपालिका वडा नम्बर २ मा खसेको १ हजार ३९२ मत मध्ये नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३३६ मत मात्रै प्राप्त गरेका छन्। जबकि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झण्डै तेब्बर ८८१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार सर्वेन्द्र खनालले भने १०८ मत प्राप्त गरेका छन्।
चुमान माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता समेत हुन्। एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि गण्डकीमा माओवादी केन्द्रले पहिलो चरणमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ। माओवादीबाट चुमान नै मुख्यमन्त्रीका दाबेदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।