तस्बिर: प्रतीक भट्ट/आरओएनबी काठमाडौं– वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तीन वटा क्षेत्रमा मतदान भएको थियो। त्यसमध्ये तनहुँ- १ मा मात्रै मतगणना जारी छ।
तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्। ९ हजारभन्दा बढी मतगणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन्।
त्यस्तै, कांग्रेसका गोविन्द भट्टराईले २३५१ र एमालेका सर्वेन्द्र खनालले १५४९ मत पाएका छन्।
बारा- २ र चितवन- २ मा भने मतगणना सुरु हुन सकेको छैन। बारा- २ सोमबार बिहान सर्वदलीय बैठक बोलाइएको छ। बैठकपछि मात्रै मतगणना सुरु गर्ने तयारी छ।
चितवन- २ मा पनि आजै सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी छ। त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको र त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने कांग्रेसको अडान छ।
मतगणना सुरु नभएता पनि बारा र चितवनमा मतपेटिका भने संकलन भइसकेको छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा तनहुँ- १ मा कांग्रेसका रामचन्द्र पौडेल, चितवन- २ मा रास्वपाका रवि लामिछाने र बारा- २ मा जसपाका रामसहायप्रसाद यादव विजयी भएका थिए। पौडेल राष्ट्रपति, यादव उपराष्ट्रपति भएका थिए। त्यस्तै, लामिछानेले नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।