चितवन २ को मतगणनास्थल काठमाडौं– प्रमुख जिल्ला अधिकारी पनि उपस्थित हुनुपर्ने मागका कारण विवाद भएपछि चितवन २ मा सर्वदलीय बैठक स्थगित भएको छ। सर्वदलीय बैठक स्थगित भएपछि आइतबार राति मतगणना नहुने भएको छ।
सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरिसकेर सर्वदीय बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख जिल्ला अधिकारी पनि बैठकमा उपस्थित हुनुपर्ने माग राखेका थिए।
रास्वपा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले तथा अरु उम्मेदवार र दलहरुले सर्वदलीय वैठकमा प्रमुख जिल्ला अधिकार उपस्थित हुनुपर्ने माग राखेका थिए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज आफू उपस्थित हुने नसक्ने जानकारी गराएकाले बैठक स्थगित भएको रास्वपाका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछानेले जानकारी दिए।
सर्वदलीय बैठकबाट मतगणना सुरु गर्नेसम्बन्धमा निर्णय हुने अपेक्षा थियो। तर बैठक स्थगित भएपछि सोमबार मात्रै मतगणना हुने भएको हो। भररतपुरस्थित दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणनास्थल बनाइको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब सोमबार बिहान सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय हुने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।