काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ का २ वटा मतदान केन्द्रमा विवाद भएपछि रोकिएको मतदान पुन: सुरु भएको छ। निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकपछि मतदान सुरु भएको हो।
भरतपुरको नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याालले जानकारी दिए।
दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार रवि लामिछानेका कार्यकर्ताहरुले नारावाजी गरेपछि विवाद भएको थियो। अन्य दलका कार्यकर्ताहरुले उम्मेबार मतदान केन्द्रमा आउँदा नारावाजी गर्नु आचारसंहिता विपरीत भएको भन्दै विरोध गरेपछि केहीबेर तनाव भएको थियो।
निर्वाचन कार्यालयले मतदान रोकेर सर्वदलीय बैठक राखेको थियो। वैठकपछि सवै दलको सहमतिका आधारमा पुन: मतदान सुरु गरिएको हो।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति रवि लामिछाने, सत्ता गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदबार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।