काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा मतदान सुरु भएदेखि नै निर्वाचनमा धाँधली सुरु भएको भन्दै विभिन्न पार्टी र उम्मेदवारहरुले प्रश्न उठाइरहेका बेला एमाले उम्मेदवारले पनि धाँधलीको आरोप लगाएका छन्।
बारा २ बाट नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले विभिन्न मतदान केन्द्रहरुमा धाँधली भएको उल्लेख गर्दै सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्।
‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, कल्यानवा (सिचाई) लगायत वुथहरुमा प्रहरीका सई (प्रहरी नायव निरीक्षक), असई (प्रहरी सहायक निरीक्षक) नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङ्गो रुपमा देखिइ रहेका छन्,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको छ। हामी यस प्रकारका गतिविधि रोक्न र निस्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।