काठमाडौं– चितवन- २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मतदान केन्द्रमा जान अवरोध गरिएको बताएका छन्। विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्न कोसिस गर्दा स्थिति सहज नभएपछि घर फर्किएको लामिछानेको भनाइ छ।
घरबाट फेसबुक लाइभ गर्दै यस्ता अवरोध हुने र मतदाताले तर्साउने तयारी भइरहेको आफूले पहिल्यै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको लामिछानेले दाबी गरेका छन्। प्रतिस्पर्धीलाई लक्षित गर्दै उनले भनेका छन्, ‘डरत्रासको सहारा लिनुभयो भने इतिहासले तपाईंहरुलाई धिकार्ने छ। एक माघले जाडो जाँदैन। तपाईंहरुलाई जनताले हेरिरहेका छन्।’
आफू मतदान केन्द्रमा पुग्दा पहिल्यै तय भएअनुसार अवरोध गर्दै धकेलाधकेल गरेर माहोल बिगारिएको उनको आरोप छ। आफू पछाडि फर्किएको बताएका छन्। उनी भन्छन्, ‘म पछाडि फर्किन तयार छु। ममाथि भएको घेराबन्दीलाई नेपाली जनताले ध्यान दिएर हेरेका छन्।’
यस विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत ध्यानाकर्षण गराएको बताएका छन्। यसअघि मंसिर ४ को निर्वाचनका क्रममा प्रतिस्पर्धीले एकदमै संयमता अपनाएको उनको भनाइ छ। उनले नेकपा एमालेका तर्फबाट तत्कालीन उम्मेदवार कृष्णभक्त पोखरेल र नेपाली कांग्रेस उमेश श्रेष्ठलाई स्मरण गर्दै एक शब्द नराम्रो नबोली चुनाव लडेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।