बारा– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत बारा २ मा मतदान दारी रहँदा निर्वाचन विथोल्ने कार्य गरेको भन्दै ६ जना पक्राउ परेका छन्। जिल्लाको देवताल गाउँपालिका–७ पीपरपाती बुथ केन्द्रबाट ६ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका–४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका–१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका–४ निवासी ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका–४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका–७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिए।
बारा २ मा दिउँसो १ बजेसम्म २२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उक्त क्षेत्रको ८२ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख ५ हजार २४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए। यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।