काठमाडौं- सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर बन क्षेत्रमा डढेलो लागेको छ। डढेलो पाँच राष्ट्रिय र १७ सामुदायिक बनमा लागेको छ।
गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय बनमा डढेलो लागेको थियो। चार दिनसम्म फैलिएको आगोले दुई सय हेक्टर बन क्षेत्र सखाप भएको डिभिजन बन कार्यालय बागलुङको तथ्याङ्क छ।
गत माघदेखि सुरु भएको डढेलो अझै रोकिएको छैन। बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी बन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय बनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए। जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ बनमा डढेलो लागेको तथ्याङ्क छ। केही तथ्याङ्क भने आउनै बाँकी छ।
यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका बनमा भएको छ। बागलुङ नगरपालिकाका ६ सामुदायिक बन र एक ठाउँमा राष्ट्रिय बन क्षेत्रमा आगलागी भएको हो। जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक/एक वनमा आगलागी भएको छ।
गत वर्ष हिउँदमा वर्षा भएकोले बागलुङका बन क्षेत्रमा आगलागी भएको थिएन। एकाध बन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए। यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश बन क्षेत्र आगलागीको जोखिममा परेको बन अधिकृत अधिकारीले बताए। वर्षा नभएसम्म बाँकी रहेका बन क्षेत्रसमेत आगलागीको जोखिममा छन्।
जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभ लगायतका कारणबाट बनमा आगो लगाउने गरेको पाइन्छ। खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ। बन-जङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन्।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।